सरकारले सिमेन्ट र स्टिलमा लगाउँदै आएको अन्तशुल्क घटाउने

काठमाडौं । सरकारले सिमेन्ट र स्टिल उद्योगमा लगाउँदै आएको अन्तशुल्क घटाउने तयारी गरेको छ । सिमेन्ट र स्टिल उद्योगको अवस्था ओरालो लाग्न थालेको भन्दै सरकारले दुई उद्योगमाथि लगाउँदै आएको अन्तशुल्कको दरमा केही कमी गर्न लागेको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएका छ ।

अर्बौ रुपैयाँ लगानी भएका उद्योगहरुको व्यवसाय निरन्तर ओरालो लागेपछि  अन्तशुल्कको दरमा केही कमी गर्ने विषयमा छलफल भइरहेको छ । ‘घटाउने भनेर निर्णय भएको छैन्,’ अर्थ मन्त्रालयका एक अधिकारीले भने, ‘तर, के कसरी राहत दिन सकिन्छ भनेर छलफल गर्दा अन्तशुल्कमा केही परिवर्तन गर्न सकिन्छ कि भनेर सोचिएको हो ।’ 

सरकारले हाल प्रतिटन स्टिलमा एक हजार ६ सय ५० रुपैयाँ र सिमेन्टमा प्रतिटन एक सय ८० रुपैयाँ अन्तशुल्क लगाउँदै आएको छ । 
अर्थमन्त्रालयका अनुुसार अहिले सिमेन्ट उद्योगहरुले २ अर्ब २० करोड रुपैयाँ अन्तशुल्कबापत सरकारलाई बुझाउँदै आएका छन् । त्यसैगरी, करिब २ अर्ब रुपैयाँ नै स्टिल उद्योगले पनि अन्तशुल्क बुझाउँदै आएको तथ्याङ् छ । 

सरकारले अन्तशुल्क लगाएकै कारण नेपालमा सिमेन्ट तथा स्टिलको मूल्य बढि भएको हो । यदि लाग्दै आएको अन्तशुल्क हटाउने हो भने सिमेन्ट तथा स्टिलको मूल्य पनि कमी हुने र उपभोक्तालाई राहत हुने उद्योगी राजेश अग्रवाल बताउँछन् । उनले भने ‘अन्तशुल्कमा छुट दिएर उद्योगीलाई भन्दा उपभोक्तालाई राहत हुन्छ । भारतको तुलनामा नेपालको सिमेन्ट तथा रड महँगो छ । कारण–सरकारले अन्तशुल्क लिएकाले हो ।’ 

स्वदेशी उद्योगलाई थप प्रतिस्पर्धी बनाउन सरकारले अन्तशुल्कमा केही हेरफेर गर्न लागेको अर्थमन्त्रालय स्रोतले बताएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटका केही उद्योगमाथि लगाउँदै आएको अन्तशुल्कमा हेरफेर गर्ने सम्भावना बढेको छ ।

अहिले नेपालमा बार्षिक रुपमा १२ लाख टन रड उत्पादन हुन्छ । त्यस्तै १ करोड २० लाख टन सिमेन्ट उत्पादन हुँदै आएको तथ्याङ्क छ । 
देशभित्र आत्मनिर्भर भएका उत्पादनलाई प्रतिस्पर्धी बनाउन सरकारले विशेष पहल सुरु गरिहेको छ । नयाँ आउने उद्योगलाई विभिन्न कर छुटदेखि उत्पादनमुलक उद्योगमा लाग्दै आएको अन्तशुल्कमा हेरफेर सम्म हुने अर्थले बताएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here