मेयरलाई खोज्दै विद्यार्थी नगरपालिका पुगेपछि,बिद्यार्थीले करिब २ घण्टा नगर प्रमुखसंग सवाल जवाफ गरे

रोल्पा – यो पटक पहिले जस्तो भएन। सधै जनप्रतिनिधि अनुगमन गर्न विद्यालय जान्थे, विद्यार्थीसंग अन्र्तक्रिया गर्थे तर गत शुक्रबार विद्यार्थीको एक हुल नगरपालिकाका प्रमुखलाई खोज्दै कार्यालय मै आए। उनिहरुले मेयरको समय मागे अनि नगरपालिकाको हलमा रोल्पा नगरपालिकाका मेयर पूर्ण केसीसंग बिभिन्न प्रश्न गरे। बालकल्याण नमुना माध्यमिक विद्यालयका कक्षा ९ ‘ए’ का ६० जना बिद्यार्थीले करिब २ घण्टा नगर प्रमुखसंग सवाल जवाफ गरे। विद्यार्थीका प्रश्न ध्यानपूर्वक सुनेका नगर प्रमुखले पालै पालो उत्तर दिए। विद्यार्थी संजिव बिसीले सुरुमा सोधे ‘स्थानीय सरकार भनेको के हो ?’ नगरप्रमुख केसीले सरल भाषामा सम्झाए ‘जनतासंग प्रत्यक्ष जोडिएर दैनिक जनताकै काम गर्ने तह भनेकै स्थानीय सरकार हो।’ उनले थपे ‘यो तपाइहरुले बनाएको तपाइहरुकै सरकार हो। हाम्रै गाउँ ठाउँको अनुकुलतामा काम गर्ने सरकार नै स्थानीय सरकार हो।’

छात्रा राधा डागीले सोधिन ‘शैक्षिक सुधारमा स्थानीय सरकारको उत्तरदायित्व कस्तो रहन्छ ?’ फेरि नगर प्रमुखले बिस्तारै भने ‘हाम्रो जिम्मेवारी धेरै छ। माध्यमिक तहसम्मको जिम्मा हामीलाई छ। स्थानीय पाठ्यक्रम समेत बनाउन पाउछौ।’ केसीले थपे ‘हाम्रो तह भित्रका सबै विद्यार्थीलाई स्तरीय शिक्षा प्रदान गर्ने बाताबरण बनिरहेको छ। शैक्षिक अबस्था सुधारका लागि हामी कटिबद्ध छौ।’

बिद्यार्र्थीहरु रोकिएनन्। निश्चल आचार्यले सोधे ‘शिक्षा सुधारका लागि कस्तो योजना ल्याउनुधएको छ ?’ शैक्षिक सुधारका लागि नगरपालिकाले बनाएको नीति उचाल्दै मेयरले भने ‘हाम्रो तह भित्र ७२ बिद्यालय छन्। ति सबै बिद्यालयका विद्यार्र्थीको शैक्षिक अबस्था सुधार गर्नका लागि योजना बनाएर अघि बढेका छौ।’ उनले थपे ‘रोल्पा नगरपालिकाकालाई शैक्षिक हबको केन्द्र बनाउने योजनाका साथ शिक्षाको स्तर सुधार गर्न लागेका छौ।’

शैक्षिक हब निर्माणको योजना ल्याएको नगरपालिकाले दरबन्दी मिलान, विद्यालय मर्ज जस्ता आवस्यक काम सुरु गरेको बताउँदै मेयर कसीले भने ‘एकनासको स्तरीय पठनपाठनमा ध्यान केन्द्रीत गरेका छौ। हामीले जारी गरेको नगर शिक्षा योजना अनुसार अल्पकालिन र दीर्घकालीन रणनीति बनाएर अगाडि बढ्ने तयारीमा छौ।’

माथिकै प्रश्नलाई सक्न नदिदै विद्यार्थी हिमाली रोका मगरले सोधिन ‘शैक्षिक स्तर सुधार गर्न बनाएको योजनाले के कस्तो सुधार भइरहेको छ ?’ बिगत अबस्था देखाउदै नगरप्रमुख केसीले भने ‘हामी आउनुभन्दा पहिले औपचारीक रुपमा मात्र गतिविधि हुन्थ्यो। अहिले हामीले सबै ठाउँमा आखा पु¥याएका छौ। हरेक विद्यालय जनप्रतिनिधिको निगरानीमा छन्।’ नगरस्तरीय परिक्षा संझाउदै केसीले भने ‘पहिलो वर्ष कहाली लाग्दो नतिजा थियो तर दोस्रो बर्षमा आउदा नतिजामा सुधार भएको छ।’

त्यस्तै विद्यार्र्थी पुष्पराज सर्माले मेयरलाई सोधे ‘गुणस्तरीय शिक्षाका लागि हाम्रो तर्फबाट कस्तो भुमिका होस भन्ने चाहानुहुन्छ ?’ विद्यार्थीको भुमिका नै पहिलो हुने बताउदै मेयरले भने ‘जुन विद्यालयमा गतिला विद्यार्थी रहन्छन त्यो विद्यालयले सधै राम्रो नतिजा दिन सक्छ। अनुसासन र पढाइलाईसंगै लग्यो भने शिक्षा गुणस्तरीय बन्छ।’

लामो समय मेयरसंग संवाद गरेका विद्यार्र्थीहरुले सुशासन, विधिको शासन, भ्रष्टाचार, लागुपर्दाथ, शिक्षाको पहुचमा नभएका बालबालिकालाई कसरी विद्यालयसम्म ल्याउने लगायत आगामी रणनितिका बारेमा समेत साधेका थिए। व्यस्त समय आफूहरुलाई दिएको भन्दै विद्यार्थी संजिव बिसीले नगरप्रमुखलाई सबैको तर्फबाट कृतज्ञ भएको बताए भने नगरप्रमुखले जिज्ञासा लिएर नगरपालिकासम्म आउने विद्यार्थीलाई धन्यबाद दिँदै शिक्षा सुधारमा स्थानीय सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए। लामो समय नगरप्रमुखसंग सम्वाद गरेका विद्यार्र्थीहरुले आउदा दिनमा स्थानीय सरकारले शैक्षिक सुधारमा चासो दिनेमा आशावादी भएको बताउँदै आफूहरु पनि अनुशासित भएर पठनपाठनमा केन्दीत हुने बताएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here