गाउँमै कृषि शिक्षा सञ्चालन हुँदा विद्यार्थी हर्षित

वीरेन्द्रनगर । सल्यानकी रीता ओलीलाई कृषि स्नातक तह पढ्ने सानैदेखिको रहर। घर नजिकै उक्त तहमा पढाइ नहुँदा अरुनै विषय पढ्ने उनको मनसाय बन्दै थियो। तर उनले उक्त मनसाय फेर्नु परेन। उनको जिल्लासँगै जोडिएको कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगरमा कृषि स्नातक तहको पढाइ सुरु भएपछि उनी काठमाडौं जानबाट रोकिइन्। उनीजस्तै हुम्लाका उज्वल सिंहले पनि कम खर्चमा घर नजिकै कृषि स्नातक तह पढ्न पाइन्।

उनीहरूजस्तै यहाँका विद्यार्थी कृषि तहको उच्च शिक्षा पढ्न चितवन, काठमाडौंलगायत भारतसम्म जानुपर्ने बाध्यता थियो।

अब त्यस्तो अवस्थाको अन्त्य भएको छ। कम खर्चमा घर नजिकै उनीहरूले उच्च शिक्षा लिन थालेका छन्। ब्राइट मध्यपश्चिम कृषि तथा वन विज्ञान क्याम्पसले कर्णालीमा पहिलो पटक कृषि स्नातक तह चार वर्षे कोर्ष सुरु गरेको हो। कृषि क्षेत्रमा दिगो विकासका लागि गुणस्तरीय शिक्षा प्रदान गरी कृषिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले कर्णालीमा पहिलो पटक उक्त क्याम्पस सञ्चालन भएको हो।

कृषिमा विकास नेपाल र नेपालीका लागि अपरिहार्य भएकाले उक्त क्याम्पस सञ्चालन गरिएको क्याम्पसका निर्देशक पुस्कर खड्काले बताए। कृषिको विकास गुणस्तरीय कृषि शिक्षा बिना सम्भव नभएको उनले बताए। ६० प्रतिशत भन्दा बढी कर्णालीवासी कृषि पेसामा संलग्न छन्।

उनीहरूको अध्ययन भन्दा व्यवहारिक रूपमा कृषि पेसा गर्दै आएका छन्। यहाँका विद्यार्थी कृषि क्षेत्रको उच्च शिक्षा पढ्ने रहर हुँदा पनि टाढा जानु पर्दा पढाइबाट वञ्चित भएका थिए। कर्णालीबाट बाहिर गएर पढ्दा उनीहरूको करिब १५ लाख बढी खर्च हुने गरेको थियो।

यहाँ ६ लाखमा पढाइ हुने बताइएको छ। कर्णालीमै उक्त क्याम्पस सञ्चालन भएपछि कम खर्चमा पढाइ पूरा हुने क्याम्पस सञ्चालक समितिका अध्यक्ष बखत भण्डारीले बताए। ‘यहाँका विद्यार्थीहरू माध्यमिक तह पढे पनि उच्च शिक्षा पढ्नबाट वञ्चित थिए,’उनले भने, ‘अब त्यस्तो अवस्था हुँदैन।’ हाल यहाँ २४ जना विद्यार्थी अध्ययनरत छन्। यहाँ कर्णाली प्रदेश, सुदूरपश्चिम र प्रदेश ५ का केही जिल्लाबाट विद्यार्थीहरू अध्ययन गर्न आएका छन्।

सुर्खेतको वातावरण हिमाल, पहाड र तराईको मिश्रण हावापानी भएकाले पनि यहाँ अध्ययन गरेको शिक्षा बढी व्यवहारिक हुने हुम्लाका उज्वलले बताए। ‘तराईमा गएर पढ्दा यहाँको वातावरण सुहाउँदो हुँदैन,’उनले भने, ‘यहाँ अध्ययन हुँदा व्यहारिक हुन्छ।’ उक्त क्याम्पसमा भिडियो कन्फ्रेन्स पनि राखिएको छ। यहाँ सैद्धान्तिकसँगै व्यवहारिक शिक्षामा जोड दिइएको सञ्चालक समितिले जनाएको छ। १० करोड लागतमा यहाँ कृषि क्याम्पस सञ्चालन भएको हो।


 गणेश विशूले नागरिकमा खबर लेखेका छन् ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here