यही वि.सं. २०७६ पौष १० गते तदनुसार ई.सन २०१९ डिसेम्बर २६ तारिक बिहीवारका दिन खण्डग्रास सूर्य ग्रहण लाग्ने ज्योतिषी दीपक सुवेदीले बताउनु भएको छ । नेपाली समय अनुसार विहान ०८ः४२ बजेदेखि ११ः३१ बजेसम्म जम्मा २ घण्टा ४९ मिनटको हुने सो ग्रहणको असरहरुको बारेमा प्रकाश पार्दै ज्यो. सुवेदीले यो ग्रहणको बढी असर हुनसक्ने बताउनु भएको छ । सो कुरा उहाँले फोरकास्ट टेलिभिजन युट्युब च्यालनलमा बताउनु भएको हो ।
यसै पनि ग्रहण संक्रमणकारक हुन्छ र सूर्य ग्रहणमा चन्द्रमा अस्त हुन्छ नै । त्यसमाथि यस पटक लाग्ने सूर्य ग्रहणको समयमा बुध, वृहस्पति र शनि पनि अस्त रहेको अवस्था छ । साथै सूर्य, चन्द्र, बुध, बृहस्पति, शनि र केतु धनु राशिमा एकसाथ रहने छन् । जसले गर्दा केही अप्रत्यासित घटनाक्रम बढाउनसक्ने, रोगको संक्रमण बढ्नसक्ने लगायतका विपरित फलको भय हुन्छ, ज्यो. सुवेदीको भनाई छ ।
विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय भविष्यवाणीहरु गर्दै आउनु भएका चर्चित ज्यो. दीपक गुरुका ज्योतिषीय विश्लेषणहरु सही सावित हुँदै आइरहेका छन् । उहाँको ज्योतिष विज्ञानको विश्लेषण पृथक ढङ्गको र वैज्ञानिक आधारपरक पाइन्छ । सो प्रस्तुतिमा उहाँले ग्रहण लाग्दा के गर्न हुन्छ र के गर्न हुन्न भन्ने बारे समाजमा व्याप्त मान्यताको बारेमा पनि वैज्ञानिक विश्लेषण दिनु भएको छ । भने ग्रहण कसरी लाग्छ भन्ने विषयमा ज्योतिष विज्ञान र आधुनिक विज्ञान दुवै लजिकको तुलनात्मक चर्चा पनि गर्नुभएको छ । ग्रहणलाई धार्मिक दृष्टिकोणबाट मात्रै नभएर वैज्ञानिक दृष्टिकोणबाट पनि असरकारक मानिएको हुनाले ग्रहण लाग्दा हर कसैले पनि सावधानी अप्नाउनु बुद्धिमानी हुनेछ ।