मेवा खेतीबाट राम्रो आम्दानी

रौतहट । बेमौसमी तरकारी तथा अन्नबालीबाट आम्दानी गर्दैआएका रौतहटका युवाहरू पछिल्लो समय मेवा खेतीतर्पm आकर्षित भएका छन् । रोपेको तीन वर्षसम्म निरन्तर फल दिने भएकाले पनि उनीहरू मेवा खेतीतर्फ आकर्षित भएका हुन् । पहिलो वर्षजस्तो बिरुवा हुर्काउन र खेतीमा खर्चसमेत कम लाग्ने हुँदा पछिल्ला २ वर्षमा राम्रो आम्दानी लिन सकिने उनीहरूको भनाइ छ । 

रौतहट, वृन्दावन नगरपालिका वडा नं. ९ का युवा परवेज आलमले रू. १५ लाख खर्च गरेर ३ विघा जमीनमा शुरू गरेको मेवा खेतीबाट वार्षिक रू. २५ लाख आम्दानी गर्ने गरेका छन् । वैशाखमा रोपेको मेवाले फल दिन थालिसकेको र दुई महीना बजारमा विक्री गर्न सकिने उनले बताए । आलमले भने, ‘उत्पादित मेवामध्ये ३० प्रतिशत स्थानीय बजारमा खपत हुन्छ । बाँकी काठमाडौं, पोखरासहितका शहरमा पनि विक्रीका लागि पुग्छ ।’ 

उनले भारतबाट रेड लेडी ७८६ ताइवान जातको मेवाको बिरुवा ल्याएर खेती गरेका हुन् । उक्त जातको बिरुवाले राम्रो उत्पादन  दिँदैआएको उनले बताए । यसपटक १ लाख केजीसम्म मेवा उत्पादन हुने उनको अपेक्षा छ । भुसाहा कृषि तथा पशुपन्छी विकास फार्म दर्ता गरेर व्यवसाय शुरू गरेका आलमले थप ४ विघा क्षेत्रफलमा पनि मेवा खेती गर्ने योजना रहेको बताए । एउटा मेवाको बोटबाट आपूmले ५ देखि ५० केजीसम्म उत्पादन लिएको उनले बताए । 

मौलापुर नगरपालिका वडा नं. ८ सोनरनियाका कृषक रामेश्वर पण्डित कुम्हारले पनि व्यावासायिक रूपमा मेवा र कुरिलो खेती गरेका छन् । १० कट्ठा जमीनमा कुरिलो र १० कट्ठामा मेवा खेती गरेको उनले खर्च कटाएर कुरिलोबाट प्रतिकठ्ठा वार्षिक रू. ५० हजार र मेवाबाट  पनि सोही अनुपातमा आम्दानी हुने गरेको बताए । फतुवा विजयपुर नगरपालिकाका युवा उमेश दाहाल र आरके मैनालीले समेत मेवा खेतीबाट आम्दानी लिँदैआएका छन् । 

दाहालले १३ कट्ठा जमीनमा मेवा खेती गरेका छन् भने मैनालीले आफ्नै निजी जमीनमा खेती गर्दैआएका छन् । कम लगानीमा धेरै आम्दानी हुने र उपयुक्त हावापानी भएकाले मेवा खेतीतर्फ आकर्षण बढ्दै गएको कृषि ज्ञान केन्द्र गौरले बताएको छ । आँप, लिची, कटहरको व्यावसायिक खेती हुने गरेको रौतहट जिल्लामा पछिल्लो समयमा मेवा खेती विस्तार भएको पनि केन्द्र गौरले जानकारी दिएको छ । मेवा बजारमा प्रति किलो रू. ८० देखि रू. ११० सम्ममा विक्री हुने गरेको छ ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here