एक मिटरको दूरीमा भुइँमान्छे

चन्द्रकिशोर

कोरोना जोखिमको घडीमा सबैको अभीष्ट यो महाव्याधिलाई छल्नु रहेको छ । तर, सरकारी र सामाजिक भ्वाङहरूका कारण यो घडी अनिष्टमा अनुवाद हुने सम्भावना छ ।

कोरोना रोकथाम र नियन्त्रणमा सरकारको भूमिकासँगै नेतृत्वकर्ता र दलसँग आममान्छेको नाताको पनि व्याख्या हुँदै छ । आम जीवनको अभीष्ट र अनिष्टलाई ध्यानमा राखेर राज्यधर्मको परिभाषा खोजिँदै छ । संक्रमणको सम्भावित जोखिम र योसँग जुध्ने सरकारी तौरतरिका आफैंमा राजनीति हो । राजनीतिको पदचापबाटै आघातको आकलन गर्न सकिन्छ ।

कोरोना कम्पपूर्व भूकम्प आएको थियो । भूकम्प संकटमा राजनीतिले एक थान संविधान दियो, खड्गप्रसाद शर्मा ओली आफ्नो दल र देशको राजनीतिमा उदाए, कम्युनिस्ट नामधारी राजनीतिक शक्तिहरूको अभूतपूर्व एकता भयो र काठमाडौँसँग मधेसको सम्बन्ध कहिल्यै नभएको जसरी परिभाषित गरियो । कोरोना कम्पले अन्यत्रजस्तै यहाँको भूगोल, धर्म, जाति, लिंग, वर्गलाई चिनेको छैन । सबै त्रस्त छन् । भूकम्पको बेलाजस्तो आन्तरिक एवं भूराजनीतिक परिस्थिति अहिले छैन ।

प्रधानमन्त्री ओलीमाथि देश र जनतालाई स्वस्थ बनाउने दायित्व छ । उनले कोरोना कहरमा कस्तो चरित्रको प्रदर्शन गर्छन्, त्यसैबाट लोकतन्त्र अस्पतालमा ‘रहिरहने’ कि ‘डिस्चार्ज’ हुने तय हुनेछ । अनेक असहमतिलाई थाती राखी संकटसँग जुध्न आमजन, समुदाय र सरकार एकाकार हुनु सबैको दायित्व हो । भनिन्छ, ठूला मानवीय त्रासदीहरूले कैयौंपटक सामूहिक चेतनालाई बदलिदिन्छन् । प्रधानमन्त्री ओलीको ढंग–ढाँचामा सुधार देखिएको छैन । उनी बरु अहिलेको संकटबाट झन् शक्तिशाली हुने दाउमा छन् ।

विपत्का बेला सरकारका असल प्रयत्नहरूलाई सघाउनु प्रत्येक नागरिकको कर्तव्य हो । मधेसमा बाढीले वितण्डा मच्चाउँदा पहाडका बासिन्दा ओर्लिए र भूकम्पको परकम्पमाझ मधेसजनहरू पहाड उक्लिएका थिए । योपटक पनि काठमाडौंबाट पैदल मधेस झर्न खोज्नेहरूलाई विभिन्न घुम्तीमा सहयोग गर्नेहरू प्रशस्त देखिए । यही हाम्रो समाजको पुँजी हो ।

यता प्रधानमन्त्रीे ओलीले आफ्नो मन्त्रिमण्डलका सहयोगीहरूलाई सञ्चारमाध्यमबाट दूरी बढाउन उर्दी दिएका छन् । संकटका बेला सबै तप्काको समर्थन र सहयोग जुटाउन प्रधानमन्त्रीले नियमित संवादमा रहनुपर्ने हो, विनम्र र विवेकी भई आमविश्वास जगाउनुपर्ने हो तर उनी चुक्दै छन् । उनी कोरोनाकाललाई आफ्नो जयगानकालका रूपमा हेर्न चाहन्छन् । आफ्ना चूकहरू संकटको च्यादरले छोपिऊन् भन्ने उनको मनसाय छ । लोकतन्त्रले सामान्य वा असहजकालमा समेत केही आधारभूत मूल्यको रक्षा खोज्छ ।

लोकतन्त्रलाई चलायमान हुनबाट रोक्नु भनेको सरकारले संविधानप्रदत्त अधिकारलाई प्राथमिकतामा नराख्नु हो । संकटसँग जुध्न लोकतन्त्रले सहयोग पुर्‍याउँछ भन्ने तथ्य स्थापित गर्ने अवसर हो यो । प्रभाव र असरको गहिराइका आधारमा आर्थिक क्षतिको अंकगणित त निकाल्न सकिएला, तर प्रधानमन्त्रीको बुझाइ, ठम्याइ र निक्र्योलबाट निर्माण हुने सत्तासूत्रका कारण उत्पन्न प्रभाव र असरको व्याख्या गर्दागर्दै संवैधानिक यात्राको लिक फेरिने जोखिम छ ।

यहीँनिर महात्मा गान्धी र प्रसिद्ध भारतीय नेता राममनोहर लोहियाको सन्दर्भ आउँछ । युवक लोहिया भन्ने गर्थे, ‘चर्खा चलाएर उपनिवेशबाट कसरी मुक्ति पाउन सकिन्छ ?’ उनी यसलाई ‘गान्धी के कारनामें’ मान्थे । एकपटक लोहियाले गान्धीलाई चिढ्याउन लेख लेखे र त्यसको एक प्रति गान्धीलाई पठाउँदै जवाफसमेत मागे । गान्धीले जवाफी पत्रमा लेखे, ‘तिमीले मसँग जवाफको अपेक्षा गर्नु हुँदैनथ्यो । मलाई लाग्छ, तिमी आफूसँग असहमत पक्षको दृष्टिकोणप्रति अलिकति पनि सहिष्णु छैनौ ।’

गान्धीको ‘विरोधीको दृष्टिकोणप्रति सहिष्णु’ दृष्टिले लोहियाको मन छोयो । यो प्रसंगलाई उनले आजीवन सम्झिराखे । सन् १९६० ताका लोहियाले लेख लेखे, ‘विरोधीको दृष्टिकोण बुझ्न नसक्नु वास्तवमा गम्भीर रोग हो । हामी आफ्नै विचारमा यति डुबेका हुन्छौं, जब अर्को व्यक्तिले आफ्नो पक्ष राख्छ, हाम्रो कार्यप्रणाली वा अभिमतका भ्वाङहरूतिर संकेत गर्छ, सुन्नै चाहन्नौं । हामी आफ्नै कुरा मात्र सुनिरहेका हुन्छौं । आफूसँग असहमत पक्षको दृष्टिकोण बुझ्नु र त्यसलाई मान्नु सर्वथा भिन्न कुरा हो ।’

लोहियाले राजनीतिक दलहरूको कथनी र करनीको अन्तरलाई व्याख्या गर्दै भनेका थिए- दलहरूका लागि कथित ‘विशेष परिस्थिति’ को ओतमा सबै थोक जायज हुन जान्छ ।

महामारीविरुद्ध राष्ट्रिय एकताको निर्माण प्रधानमन्त्री ओलीको प्रयत्नको जादुभन्दा पनि भयले उत्पन्न सहयोगात्मक परिस्थिति हो । सरकारले संकटका बेला आम विश्वास बढाउन सुशासन, समयबद्ध सञ्चार, राजनीतिक दलहरूसँग समन्वय, सरकारी संयन्त्रहरूबीच सामञ्जस्य, समयमै तयारीका चरणहरूको परिपालन, फुनगीका साथै भुइयाँको सरोकारजस्ता विषयहरूमाथि प्रशस्त प्रश्न उठाउने अवसर दिएको छ । फुनगी वर्गले प्रतिरोध क्षमता कसरी बढाउने भन्नेमा चासो राख्छ । त्यस्तै भुइयाँ वर्ग भोक कसरी मेटाउने भन्ने चिन्तामा अल्झिएको हुन्छ ।

सरकारले रुँदै गरेका जनताका आँसु पुछ्न सकिरहेको छैन । प्रधानमन्त्री ओलीआफ्नै तालमा बाँसुरी बजाउँदै ‘व्यक्तिगत दूरी बढाउनुको अर्थ सञ्चारमाध्यमसँग दूरी बढाउनु हो’ भन्न थालेका छन् । संकटले नेतृत्वको खोजी गर्छ, स्थापित गराउँछ र यदाकदा पतन पनि गराउँछ । सरकारको आलोचना गरिनुपर्छ, जसबाट जनताको उकुसमुकुसले ‘सेफ्टी भल्भ’ पाउँछ । लकडाउनको अन्तर्य सरकारका चूकहरूप्रति चुप रहनु होइन ।

एक लोककथामा भनिन्छ, जंगलमा मुसाहरू संवैधानिक स्वतन्त्रता पाएर रमाइरहेका थिए । जंगलवासीसँग एक थान संविधान छ भन्ने भरोसा थियो । सबै जंगलवासीले संविधान मानेका थिए । एउटा हात्ती थियो जसले बेलाबेला कानुन, मूल्य र मुसाहरूको आकांक्षा कुल्चिने गथ्र्याे । हात्तीलाई कसरी छेकबार लाउने भनेर एक दिन मुसाहरूको बैठक बस्यो । बैठक भइरहँदा हात्ती आइपुग्यो ।

भागदौड मच्चियो । एउटा मुसो रूखमा उक्लियो । संयोगले हात्ती त्यही रूखमुनि पुग्यो । हात्तीले यसो सुँड उठाएर सास फेर्दै गर्दा हाँगाको मुसो डरायो र झर्‍यो । तर, हात्तीको पिठ्यूँमै अड्कियो । यो देखेर दुलोभित्रबाट अरू मुसा कराउन थाले, ‘अरे नडराऊ ! जोडले कुल्च ! यति थिच कि फेरिहात्ती उठ्न नपाओस् !’ त्यति नै बेला हात्ती बस्यो र मुसो भाग्यो । तर दुलोमा छिर्नुपूर्व नै मुसो बेहोस भयो । हात्ती भने ओल्टिँदैपल्टिँदै रूखको फेदमा बसिरह्यो । जबसम्म हात्ती त्यहाँबाट हटेन, तबसम्म मुसो बेहोसै रहिरह्यो ।

देहातमा यो लोककथालाई राजनीतिक कथ्यमा अर्थ्याइन थालिएको छ । भनिन्छ, मुसाहरू आफ्नै तरिकाले कोरोनाकालमा हास–परिहासमा लागेका छन् । मुसाहरूको कैयौं बैठक भयो रे । तर हात्तीबाट मुक्ति पाउने कुनै नयाँ रणनीति बन्न सकेको छैन । हात्तीका लागि कोरोनाकाल आफ्नै तरिकाले चर्ने काल साबित भएको छ । उसलाई मुसाहरूको झगडिया स्वभाव थाहा छ । त्यसैले शक्तिशाली हात्तीले आफ्नो कान टालेको छ । ऊसमक्ष जंगलवासीको रोदन पुग्न सकेको छैन । यता मुसाहरूमाझ त्यो दिनको सम्झना र अर्थ आआफ्नै तरिकाको छ ।

एक पक्ष भन्छ, ‘त्यो पुन्टे (मुसा) यति डरायो, त्यसउप्रान्त चुँ पनि गर्न सकेन ।’ अर्को पक्ष आत्ममुग्धतामा छ, ‘जे भए पनि आखिरमा हात्तीलाई बसाएरै छाड्यो ।’

नागरिक समाज, मिडिया र राजनीतिक अभियन्तामाझ कसले, कहिले मुसाचरित्रको अभिनय गरे भन्ने दाबी–प्रतिदाबी चलिरहला, यो कथाको व्याख्या आआफ्नै तरिकाले चल्दै गर्छ, सरकार सर्वेक्षणहरूमार्फत आफ्नो मुहार चम्किलो रहेको आत्ममुग्धतामा रमाउँदै गर्ला, तर भुइँमान्छे र सरकारबीच दूरी छ । कोरोनाकालमा सरकारले भुइँमान्छेलाई अँगालो हाल्छ कि अझै अटेरै गरिरहन्छ ? कान्तिपुर राष्ट्रिय दैनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here