इन्सुरेन्सको सेयर कारोबारमा गडबढी

नेपाली पैसा  काठमाडौं : नेपाल इन्सुरेन्सको सेयर कारोबारमा गडबढी भएपछि यतिबेला सामाजिक सञ्जाल तातेको छ । सेयर बजारसँग सम्बन्धित विभिन्न ग्रुप, क्लब हाउस तथा सर्वसाधारण लगानीकर्ताले यो हुनै नसक्ने तथा यस्तो अचम्म कसरी भयो ? भन्दै एकअर्कालाई प्रश्न तेर्साइरहेका छन् । तर अहिलेसम्म नेप्से, धितोपत्र बोर्ड तथा किनबेच गर्ने ब्रोकर कम्पनीहरुबाट यसको आधिकारिक जानकारी आउन सकेको छैन ।

नेप्सेले के भएको हो भनेर अध्ययन गर्नुपर्ने बताइरहेको छ । सिस्टममा गडबढी भएको हो वा कसैले सिस्टम नै बिगारेर चलखेल गरेको हो त्यसमा अध्ययन हुने नेप्से सम्बद्ध अधिकारीको भनाई रहेको छ । जे सुकै भएको भए पनि यसका लगानीकर्ताले भने एउटै क्लिकबाट करोडौं रुपैयाँ गुमाएका छन् । यसर्थ, बजार सञ्चालक र नियामकले तत्काल यस सम्बन्धमा गम्भीर छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्छ ।

यदि यो घटनाको वास्तविकता तत्काल सार्वजनिक भएन भने सर्वसाधारण लगानीकर्ताको बजारप्रतिकै विश्वसनीयता गुम्न जान्छ भन्नेतर्फ सम्बद्ध निकाय सवंदेनशील हुन जरुरी रहेको लगानीकर्ताहरुले बताइरहेका छन् । नेप्सेको नियम अनुसार कुनै पनि कम्पनीको भाउ एक दिनमा १०% भन्दा तलमाथि हुन पाउँदैन । त्यसमा पनि प्रत्येक कारोबारमा २% ले मात्र घटबढ गर्न मिल्छ । प्रणालीमै त्यो व्यवस्था गरिएको छ ।

तर नेप्सेको अनलाइन प्रणालीले नै स्वीकार नगर्ने व्यवस्था हुँदाहुँदै कसरी एकैपटक नेपाल इन्सुरेन्सको सेयर मूल्य अघिल्लो कारोबारको तुलनामा ११.७५% ले घट्यो भन्ने अहिले निकै चासो र चिन्ताको विषय बनेको छ । आम लगानीकर्ताले यसको उत्तर खोजिरहेका छन् । बजार बन्द हुने बेलामा नेपाल इन्सुरेन्सको सेयर मूल्य अन्तिम २ वटा कारोबारको फरक ११.७५% देखिएको छ । अर्थात् अन्तिम कारोबारमा भाउ यसरी घटेको हो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here