१५औँ गणतन्त्र दिवसको अवसरमा मेयर यादवको घोषणा:प्रत्येक कार्यालयमा विद्युतीय हाजिरी


बिमलेश कुमार झा

१५ जेठ,रौतहट । नेपालको १५ औँ गणतन्त्र दिवसको अवसरमा नवनिर्वाचित मेयर प्रदिप यादवले लोकप्रिय कार्य गर्ने घोषणा गरेका छन्।

नेकपा एकीकृत समाजवादीबाट बौधिमाई नगरपालिकामा नवनिर्वाचित मेयर यादवले कार्यालयमा कार्यरत कर्मचारीहरुको बढ्दै गएको लापरबाहीलाई नियन्त्रण गर्न बौधिमाई नगरपालिका अन्तर्गत रहेका सम्पूर्ण कार्यलाय तथा सामुदायिक विद्यालयहरुमा समेत विद्युतीय हाजिरी प्रणाली लागू गर्ने घोषणा गरेका छन्। कार्यालयका कर्मचारी तथा सामुदायिक बिद्यालयहरुमा कार्यरत शिक्षकहरुले सधै अनुपस्थित हुने र बिद्यालय आएपनि निर्धारित समय सम्म नबस्ने गरेको गुनासो बढ्न थालेपछि विद्युतीय हाजिरी लागू गर्ने निर्णय गरेको मेयर यादवले बताउनुभयो। उहाँले शिक्षाको गुणस्तर वृद्धि गर्न र बदलिँदो समय अनुसार प्रविधिमैत्री बन्न पनि विद्युतीय हाजिरी प्रणाली लागू गर्ने निर्णय गरेको बताउनुभयो ।

बौधिमाई नगरपालिका वडा नं ५ को स्थानीय विद्यालय श्री प्राथमिक विद्यालय कोपवामा आयोजित गणतन्त्र दिवसको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मेयर यादवले कार्यालयमा कार्यरत कर्मचारी तथा शिक्षकहरूले ५ दिन सम्म अनुपस्थित रहि प्रत्येक दिनको हाजिरी बनाउछ तर मेरो कार्यकालमा त्यस्तो लापरबाही नहुने दाबी गर्नुभयो ।

बौधिमाई नगरपालिकामा विगत पाँच वर्ष देखि बिग्रेको प्रशासनिक व्यवस्थालाई विस्तारै ट्रेकमा ल्याइ जनतालाई निष्पक्ष सेवा प्रवाह गर्ने मेयर यादवले उल्लेख गरे।

वर्तमान आवश्यकताका रुपमा रहेका अङ्ग्रेजी पठनपाठनलाई विशेष प्राथमिकतामा राखि सो पठनपाठन लागू गर्नुभन्दा पुर्व आवश्यकता अनुसारको जनशक्ति र विद्यालय व्यवस्थापन गरि सो कार्यको थाल्नी गर्ने मेयर यादवले प्रतिबद्धता गर्नु भयो ।
विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई बाख्रा चराउन प्रतिबन्ध लगाउन उपस्थित सम्पूर्ण अभिभावकसँग आग्रह गर्दै यदि यस्तो नभए नगरपालिकाबाट पाउने सेवा सुविधामा कटौती गर्ने समेत चेतावनी दिनु भयो । गणतन्त्र दिवसको अवसरमा मेयर यादवले विद्यालय क्षेत्रलाई हरियो तथा स्वच्छ र सफा वातावरणमय बनाउन सो विद्यालयको प्राङ्गणमा वृक्षरोपण समेत गरेका छन।
मेयर यादवले गणतन्त्रको इतिहास बारे प्रकाश पार्दै जनआन्दोलन २०६२/६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो। २३८ वर्ष लामो शाह वंश राजपरम्पराको अन्त्यको घोषणा भएको उक्त दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रूपमा मनाउन थालिएको छ।

सो कार्यक्रममा उपस्थित नेकपा एकीकृत समाजवादीका युवा नेता कनिश पटेलले प्रदिप यादवको सुरुवाती कार्यबाट बौधिमाई नपामा गणतन्त्रको अनुभुती भएको टिप्पणी गरेका छन्। बौधिमाईका निवर्तमान मेयर राजु यादवले विगत पाँच वर्षको कार्यकालमा हरेक दललाई समावेश गरि गणतन्त्र दिवस न मनाएको खुलासा गर्नु भयो।

पटेल अनुसार स्थानीय सरकार आए देखि अहिलेसम्म बौधिमाईमा गणतन्त्र दिवस न मनाइएको र नवनिर्वाचित मेयर प्रदिप यादवको सुरुवाती कार्यकालमै यस्तो लोकप्रिय कार्यको थाल्नी हुदा नगरमा गणतन्त्रको अनुभुती भएको हो।

सो कार्यक्रममा बौधिमाई नपाका उपप्रमुख प्रमिला देवि जैसवाल, वडा नं ४,५,८, र ९ का वडा अध्यक्ष तुरन्त नरायण यादव, लक्षमी नरायण यादव, बिन्देश्रवर यादव,मुक्ति नरायण मिश्र, नेपाली काङ्ग्रेसका जिल्ला उपाध्यक्ष रामलोचन प्रसाद जैसवाल,नेकपा एसका जिल्ला कमिटी सदस्य रमेश जैसवाल लगायतका नेता कार्यकर्ताहरुको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको थियोे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here